स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

युवा, अनुशासन र उच्छृखलता


जहाँ अनुशासन हुन्छ त्यहाँ उच्छृखलता हुदैन र जहाँ उच्छृखलता हुन्छ त्यहाँ अनुशासन हुदैन । यसर्थ अनुशासन र उच्छृखलतालाई बिपरित ध्रुवका विषयहरू मान्न सकिन्छ । तर युवा भने अनुशासन र उच्छृखलता यी दुवै विषयहरूमा समाहित हुनसक्ने परिवर्तनशिल विषय हो । युवा सधै समयसँगै परिवर्तन हुन्छन र हुन चाहन्छन । अनुशासनको स्थायी प्रवतिले युवा र उच्छृखलतालाइ मर्यादा बाहिर जान नदिने चेष्टा गरेता पनि युवा र उच्छृखलता कहि न कहिबाट अनुशासन भन्दा पर पुगेकै हुन्छ ।
       यस अर्थबाट पनि युवा र अनुशासन अनि अनुशासन र उच्छृखलता फरक फरक ध्रुवका विषयहरू हुन भन्न सकिन्छ । तर जब युवा समयको परिवर्तनसँगै परिवर्तित हुदै जादा उच्छृखलताको पकडमा पर्दछ तब अनुशासन पनि उच्छृखलताको कारणले प्रभावित भई युवा र अनुशासन दुवैको अस्तित्व समाप्त हुने स्थितिमा पुग्दछन । अन्ततः उच्छृखलताको चरमसिमाले युवा र अनुशासन दुवैलाई सहि कर्मकार्यबाट समेत बिमुख बनाइ समग्र विषयहरूलाइ नै प्रभावित तुल्याउन पुग्दछ ।
       यसरी समय परिवर्तनसँगै परिवर्तन हुन चाहने युवापिढिलाई नराम्रो भने भन्न मिल्दैन । तर परिवर्तनको केहि पाटोहरू नकारात्मक प्रवृतिसँग सम्बन्धित र सम्मिलित भईदिदा युवा साथै उनिहरूले गरेको परिवर्तन पनि नकारात्मक रूपमा प्रस्तुत भइदिन्छ । जुन नकारात्मक परिवर्तन अचेलका युवाहरूमा अधिक रूपमा देख्न सकिन्छ । जस्तै कि, अचेलका युवाहरूले विशेषगरी पश्चिमि मुलुकहरूको रहन, चालचलन, संस्कृति, भेषभुषाको अपेक्षाकृत रूपमा भन्दा बढि अक्कल नपुर्याइ नक्कल गरिरहेका छन । उनिहरूले घाटि हेरी हाड निल्ने हैन बरू हाड हेरी घाटिको आकार बढाउने प्रयत्न गर्दैछन । जसको कारणले अचेल हाम्रो समाज परिवर्तन त हुदैछ साथसाथै परिवर्तनसँगै उच्छृखलताको बिकास पनि चरम सिमासम्म पुगिसकेको छ । अझ १४ वर्षदेखि माथि र २५ वर्ष मुनि उमेर समूहका युवाहरू त झनै उच्छृखलताको उच्चतम सिमासम्म पुगिसकेका छन ।
       पारिवारिक संरचना या सामाजिक मर्यादाको दवावमा केहि युवाहरूले उनिहरूको उच्छृखल बानि ब्यहोरा घर परिवार भित्र नदेखाए तापनि घर बाहिर कलेज, पिकनिक, सिनेमा घर, सामाजिक सञ्जाल फेसबुक, मिग, ट्विटरमा भने उनिहरूले खुलेरै उच्छृखल प्रवृति प्रस्तुत गरिरहेका हुन्छन । अझ शिक्षा र सकारात्मक सन्देश भन्दा बढि उच्छृखल दृश्यहरूले भरपुर फिलिमहरूको प्रभावले उनिहरूको मनोवल अझ उच्च बनाउदै लगेको मान्न सकिन्छ । फिलिममा देखाईएको दृश्य नक्कल गरि त्यहि क्यारेक्टरमा प्रस्तुत हुन चाहदैछन । जसले उनिहरूलाई दिन परदिन उनिहरूको जिम्मेवारीबाट समेत टाढा धकेल्दै लगिरहेको छ । जस्ले गर्दापनि अचेलका युवा पिढिहरूले अनुशासनलाई उच्छृलताको चंगुलबाट बचाउन सकिरहेका छैनन् ।
       गरिब होस या सम्पन्न, अचेल यी दुवै वर्गका परिवारमा जन्मिएका युवापिढिहरू गलत बाटोमा हिडिरहेका छन । सम्पन्न परिवार हुदैमा त्यहाँ भित्र कडा अनुशासन नहुन पनि सक्छ । र यदि कडा अनुशासन भए तापनि त्यो परिवारको युवापिढि असल एवं अनुशासित नहुन पनि सक्छन । किनभने अचेलका युवापिढिहरू परिवार भित्रको अनुशासन तर घर बाहिरको उच्छृखल प्रवृतिको अनमेलतापूर्ण वातावरणमा जिईरहेका छन । उनिहरू घर परिवार भित्रको कडा अनुशासनलाई घर बाहिरको उच्छृखल प्रवृतिबाट बचाउन सक्षम छैनन् । यसर्थ पनि अचेलका युवापिढिहरू अनुशासन र उच्छृखलताको अनमेलपूर्ण दवावमा परि भविष्य प्रति हतास हुने, डिप्रेसनमा पर्ने र अन्तत अनैतिक कार्यमा समेत संलग्न हुने कार्यमा प्रेरित हुदै गइरहेका छन ।
       यसकारण अचेलका युवाहरू विशेष गरि टीनएजका युवाहरूलाई सपार्न अनुशासनको बन्धन मात्र प्रयाप्त छैन । उनिहरूलाई अनुशासनको साथसाथै व्यवहारिक जिवन पद्दति सन्तुलन गर्न सक्षम बनाउने ब्यवहारिक शिक्षाको पनि उत्तिकै खाँचो छ । उनिहरू उमेरले आलोकाचो हुन्छन । अझ टीनएजका युवापिढिहरू हट्टि, सन्काहा, चाडै रिसाउने प्रवृतिका हुनुको साथसाथै अति नै संवेदनशिल पनि हुन्छन । यसर्थ पनि अचेलका युवापिढिहरूलाई अभिभावकले र समाजले समय छदै भावनात्मक, संवेगात्मक र मानसिक सन्तुलन सकारात्मक बनाउने शिक्षा समेत दिई उच्छृखल बन्नुबाट रोक्नु अति जरूरी छ । उनिहरूको उमेरको कदर गर्दै उनिहरूको हरेक जिज्ञासा र भावनाको समेत सकारात्मक ख्याल गरिनुपर्छ ।
       अचेलका युवापिढिहरू किताबि प्रश्न उत्तर रटेरै मात्र बस्न चाहदैनन् । दिन परदिन बदलिरहेको शिक्षाको अनेक माध्यमहरूमा समेत प्रवेश गर्न चाहन्छन । दुनियाँ बदलिरहेको अवस्थामा उनिहरू आफ्नो वर्तमानलाई पनि द्रुत गतिमा बदल्न चाहन्छन । तर त्यहि द्रुत गतिमा सोच बिचार नगरि हाम फाल्दा कहिलेकाहि अनुशासन भंग भई धेरैजसो युवाहरू कूलतको सिकार समेत भइसकेका छन ।
यसर्थ पनि मेरो युवा साथी हो, यो संवेदनशिल वर्तमान र भविष्यलाई उज्वल बनाउनको निम्ति आफ्नो जिम्मेवारी प्रति पनि स्वयं कर्तव्यनिष्ट रहेर अनुशासनलाई उच्छृखल प्रवृतिबाट टाढा राख्ने सत्प्रयास गर्नुहोस । कर्ता मात्र नबन्नुहोस, कर्म पनि गर्नुहोस ।