स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

बरै

          भदौको महिना जाडो दिन दिनै बढ्दैछ । आकाश र धर्ति एकै समान छ । सेतै बादलले गुम्लुगं छोपेको आकाशमा बिहानको दश बजिसक्दा पनि घामको किरण सम्म परेको छैन । पानी पर्ला पर्ला जस्तो छ ।
मैलो दौरा बाहुला बिनाको अनि जीर्ण सकेको सुरूवाल लाएर अँगेनूको एक छउमा टुक्रुक्क बसिरहको जिते भातको एकतमासको फत फत फत्काइसँगै हरा रहेको मनका तन्द्राहरूसँगै घरि वल्लो छेउ घरि पल्लो छेउ गर्दै पिगं खेलिरहन्छ । चुल्होको छेउमा छोराला काखमा लिएर बसिरहेकि चमेलि पनि खै के के हो कुन्नि सोचिरहेकि छिन । अनायस जीतेको आँखा कुद्दै चमेलिको कुमको दु छेउसम्म पुग्छ र टक्क अडिन्छ । पातलो जीर्ण शरीरमा कुम कुममा फाटेको भएनी चिटिक्कै सुहाएको छ चौबन्दिले । अनि काखमा लडिरहेको पाँच वर्षको छोरा गोरेको भोटोसम्म ऑखाला कुदाउँछ । टालेको छोरोको भोटोले सेतो सेतो धागोको परेला उघारि जितेलाइ एक टकले हेरिरहन्छ । भित्र अर्न्तहृदयमा एकफेर द्दन्द्द शुरू हुन्छ । तर लाचार बिचरा जीते चमेलीको चौबन्दि र छोराको भोटो हेरिरहन्छ ।
गरिबले देखेको सपना चाँडै पुरा हुन सक्दैन । त्यसैले गरिबको कुनै सपना नै हुदैन । त्यसैगरि गरिबका चाहना, इच्छा र आकांक्षाहरू पनि हुदैनन् । हुन्छन त सपना, बिहान बेलुकाको दु गाँस । त्यसैले त गरिबको संसार डढेर खरानी हुँदो हो,
आफ्ना चाहना र इच्छा आकांक्षाको गला निमोठि मार्न बाध्य अहिले जीते सामु थुप्रै कुराहरूले नंग्रा फिँजाएर उभिरहेको छ । लगाम लगाएको घोडा जस्तो भएको छ जीते । बाध्यताले हो या विवशताले अहिले उ लगाम खिचिएको घोडा भएको छ ।
संघारमै आइसक्यो दशैं । तर जीतेलाइ त्यो दशैं नभएर दशा भएको छ । आम्दानीको नाममा कहिबाट चार पैसा आउँदैन । अब लत्ता, कपडा, चामल चिउरा, माछा मासु, पाहुना आउना आदि सारा चिजहरू ऑखा वरिपरि घुम्न थाल्छ । दशैं चाड नभएर पहाड भइ उभिदिन्छ । यिनै के के कुराहरू मनको टुँडीखेलमा खेलाउदै सिकुवामा बसिरहेको जीतेको तन्द्रा सुवेदार कर्णबहादुरको आवाजले भंग पारिदिन्छ । कर्णबहादुर सुवेदार घरमाथिको बारिको डिलमा उभिएर भन्दै थियो ।
˝के भन्दा हुँदी, मेरो छोरो धेरै वर्षपछि घर आउदैछ । उहाँ गाइघाटसम्म चाहि के भन्दा हुँदी आइपुग्या रै छ । त्यसैले तँ सँग मद्दत माग्न आको ।˝ सुवेदारले भन्यो ।
अलि आश्चर्य मुद्रामा जीतेले भन्यो । के मद्दत गर्न सकूँला र हजुरलाइ ?
के मद्दत हुनु नाइ, भारी बोक्ने मान्छे पठाइदिनु भनेर भनेको रैछ । त्यसैले के भन्दा हुँदी तँ र बीरमाने दुइ जना भएर गइदिन्छौ कि भनेको ।
जीते न बोलिकन उभिरह्यो । केहि बेरपछि खै के के सोच्यो कुन्नि अनि स्वीकृतिको इसारा गर्यो टाउकोले । सायद फेरी उसले चमेली र छोरालाइ एकै चोटि देख्यो होला । फेरी सम्झ्यो होला नजिकै उभिएको दशैं ।
˝कहिले जानुपर्ने ?˝ जीतले साध्यो सुवेदारलाइ
भोली जान सक्छस भने भोली नै जा, बरू कति दाम दिउँ भन त ? ˝ सुवेदारले भन्यो
म त खै कति भनूँ, जति दिनुहुन्छ हात थाप्छु । मधुरो वाजमा जीतेले भन्यो । सुवेदारले एक छिनसम्म सोच्यो । खै के सोच्यो । ल यो पाँच सय रूपैयाँ तलाइ भयो । खल्तिबाट पैसा झिकेर जीतेको हातमा फालिदियो ।
म ऐले लागे । उता बीरमानेलाइ पनि के भन्दा हुँदी भेट्नु छ । सुवेदार बुढो विस्तारी तेर्सो लाग्यो ।
एकछिनसम्म सुवेदार गाको दिशातर्फ हेरि रह्यो । अनि हातको त्यो पाँच सय रूपैयाँलाइ हेर्यो । खुशी खुशी जस्तो, दुःखी दुःखी जस्तो, कस्तो अनुहार लाएर जीतेले पैसालाइ पल्टाइ पल्टाइ हेर्यो । चौबन्दि चोलो, नफाटेको भोटो, माछा मासु, दशैं चाड सबथोक त्यै पाँच सय भित्र देख्यो । अनि एकफेर थोरै मुस्कायो पनि
#     #     #
घामको त कुरै छाडौं, अझसम्म पनि बादल भित्रै लुकिरहेकै छ । समय दगुरेर डाँडा काट्न थालेको हुदो हो साँझ भएको हुँदो हो । किराकिरीहरू एकतमासले कराइरहेछ । किरिरिरि......गर्दै
त्यहि किरिरिरि.......सँगै जीते फेरी सपनाको तान लगाउँछ र नाना प्रकारका सपनालाइ यथार्थताको धागोमा बुन्नु थाल्छ । घरि चमेलीको फाटेको चौबन्दिको सट्टा नयाँ चौबन्दि बुन्छ । घरि छोरोको भोटो, घरि दशैं बुन्छ । घरि आफ्नो गरिबी । एकतमासले बुन्दा बुन्दै छोराको बा...शब्दसँगै सपनाको तानको धागो छिनिन्छ ।
छोरा आएर जीतेको काखमा बस्छ । जीते छोरोको टाउकोमा हात राखेर उसको कपालका रौ रौ छुट्याइ रहन्छ । छोराले बा को मुखतिर हेर्छ, बा मलाइ मधेशबाट राम्रो राम्रो लुगा ल्याइदिनु है । जीते नबोलिकन छोरोको कपाल मुसारी रहन्छ ।
      ˝त्यो भीमे छ नि त्यसले हामीलाइ गरिब भन्यो । हाम्रो धेरै पैसा छैन अरे । मेरो भोटो पनि टालेको छ । अनि आमाले पनि किन च्यातिएको लुगा लाको ? च्यातिएको लुगा लाउने मान्छे गरिब हुन्छ हो बा ? ˝ छोरोको एकपछि अर्को गर्दै बार बार थपिदै गाको प्रश्नहरू थाम्न सक्दैन । घरि घरि तीखो वाण जस्तो बनेर छोरोको प्रश्न कानको जाली छेंडेर मुटुसम्म पुग्छ र आँखासम्म आएर रसाउँछ । दैलोमा अघिदेखि उभिएर बसेकी चमेलीको आँखाबाट विस्तारै ऑशु भुइसम्म खस्छ तर उसलाइ थाहै हुदैन । चमेली टोलाइ रहन्छिन छोराको अनुहारमा । जीते छोरालाइ मुसारी रहन्छ । किराहरू कराइ रहेकै छन् किरिरिरि.....
      बिहान भालेको डाकसँगै जीते बाटो लाग्यो । एक किसिमको स्फूर्तिको छाल छचल्किरहेछ मनको सागरभरी । त्यसै त्यसै एकतमासको खुशी उर्लिरहेछ भदौरे भेलहरूमा । तर प्रदेशको यात्रा एक्लै छ कता कता एक्लोपन हुँदाको डर भइरहेछ । बीरमाने खै किन नजाने भएर उ बीरमाने प्रति रिसले गाली गर्छ मन मनै ।
आकाश भरी बादल छाएको छ । घरि घरि चिसो सिरेटो आएर कानसम्म स्पर्श गर्न पुग्छ । कुनै रून्चे बालकको अनुहार जस्तो मुख लाएर आकाश रून रून आँटेको छ । तल दूधकोशी आफ्नै सुरमा सलल बगिरहेछ चालै नदिइ । जीते सारा सपनाहरू र छोराको प्रश्नहरूलाइ ढाकर पिंदमा बोकेर कोशी छेउ छेउ हिडिरहेको छ । ठूलो ठूलो ढुगांको ओडार मुँख ऑ बनाएर आफैलाइ नै चपाउन बसिरहेको जस्तो लाग्छ ।
गड्यागं गरेर एकफेर आकाश गड्क्यो । एकैछिन पछि पानीका थोपाहरू झर्न थाले । सायद रून्चे अनुहारमा एकफेर चड्कन लाएछ क्यारे चट्यागंले । बादल रून थाल्यो । जीते नजिकैको ठूलो रूखमुनि ओत लाग्यो । पानी रोकिन्छ भनेको त झन ठूलो पर्न थाल्यो । खहरेहरू मात्तिएर जोडसँग झर्न थाल्यो । हेर्दाहेर्दै तल दूध कोशिपनि बढेर पारीको ठूलो ढुगांको रेखी नाघ्न थालेको छ ।
उत्तर तिरबाट एकफेर हिमालहरूले फुइइइ गरेर फुकेछ क्यारे । चिसो हावा पनि बहन थाल्यो । लगभग दुए घण्टा भयो होला त्यहाँ बसेको तर पानी उस्तै दर्केको दर्केकै छ । अगाडि जाउँ त यस्तो पानी, न जाउँ त छोरोको प्रश्न जिवितै छ कानमा ।
˝बा मलाइ नयाँ भोटो, बा हामी गरिब.....बा आमाको च्यातिएको लुग.....अदि इत्यादि ।
जीतेलाइ बाध्यताले धकेल्यो । उ भिज्दै भएपनि अगाडि बढ्न थाल्यो । अलि पर पुगेको मात्रै के थियो माथिबाट सानो सानो ढुगांको साथमा माटोहरू सोहोरिदै झर्दै थियो । माटोहरू त उसले टेकेको ठाउँको पनि झर्दै थियो उसलाइ थाहै भएन । एकफेर छोरा मैले तिमिलाइ नयाँ भोटो .......वाक्य पनि पुरा हुन नपाउदै पैह्रोले दूधकोशिमा मिसायो । मात्र उ खसेन, उसका सारा सपनाहरू पनि उ सँगै खसे । उसका छोरोको चाहनाहरू सारा पैह्रोसँगै झरेर कोशिमा सललललल गर्दै तैरीयो । कति त त्यहि पुरियो ।
#     #     #
हरेक बिहान अनि बेलुका साँझसम्म चमेली ढोकाको सँघारमा उभिएर पारीपट्टि तनक्क तन्केको आरूबोटे डाँडाको मूलबाटो हेरिरहन्छीन । थुप्रै थुप्रै आशाका साना साना बिरूवाहरू पलाउँदै मर्दै गर्छन । छोरोपनि मूलबाटोसम्म गएर पर्खिरहेकै छ बाटो । राम्रो राम्रो लाउने आशाहरू आँखाभरी नाचिरहेकै छ पुतली बनी ।
ललित राई